01 July 2016

यात्रा पाँच दिनको

माघको महिना, कठ्याङ्ग्रिएको जाडो २०५६ साल ।
संखुवासभा जिल्लाको सरस्वती उच्च मा. वि. चैनपुर (तत्कालिन मा.वि.) जिल्लाको राम्रो मध्ये एक विद्यालय । हाम्रो कक्षा ९ को बार्षीक परिक्षाको परिक्षाफल भर्खरै प्रकाशित भएर कक्षा १० को कक्षा संचालन हुने तयारी भैरहेको थियो ।

प्रत्येक बर्ष जुनियर रेसक्रस सर्कलले जिल्लाका बिभिन्न विद्यालयहरुले हाजिरि जवाफ प्रतियोगिता गर्दथ्यो । त्यो बर्ष हाजिरि जवाफ प्रतियोगिता गर्ने जिम्मा पाएको थियो हिमालाय मा.वि. हेदाङ्नाले, जिल्लाकै बिकट ठाउँमा ।

जुन सुकै विद्यालयले आयोजना गरे पनि सबै भन्दा जटिल कुरा थियो हाजिरीजवाफको लागि विध्यार्थी (टिम) छनौट । ठूलै बिवाद हुने सिर्जना हुँदै थियो तर प्र.अ. मुक्तिनाथ गौतम सरले सबै जिम्मा दिनुभयो पुरुसोत्म पोख्रेल सरलाई । एक टिममा ३ जना हुनु पर्ने नियम अनुसार क्षा ९ बाट एक जना र क्षा १० बाट दुइ जना छान्ने निर्यण भयो । र अन्त्यमा सामान्य ज्ञानमा अलि अब्बल क्षा ९ बाट रत्नमणि गौतम तथा क्षा १० बाट सहपाठि साथि गोबिन्द प्रकाश निरौला र प्रमोद भट्टराई (म) । उक्त हाजिरी जवाफ प्रतियोगिता गर्ने हिमालय मा. वि. हेदाङ्ना हाम्रो विध्यालय बाट पुरा २ दिनको हिंडाईमा पुगिन्थ्यो । त्यहि योजना अनुरुप पहिलो दिन चैनपुरकै भञ्याङ्खर्कमा रत्नमणिको घरमा बसियो साथमा हुनुहुन्थ्यो भुगोल बिषयका सर पुरुसोत्म पोख्रेल अर्थात हाम्रो समुहको टोलिनेता ।

यात्रा दिन -
बिहानै सुरु भयो भन्ज्याङ्खर्क बाट यात्रा, अनि मेरो पिडा पनि त्यहिबाट सुरु भयो, कारण बुबाले किनिदिनु भएको नयाँ जुत्ता । जुन हल्का सानो त्यो पनि आफ्नै हठले गर्दा किनकि निकै राम्रो भएकोले साट्न नमानेको आफैले हो । जे भएपनि अब बिकल्प भनेको कि खाली खुट्टा कि त्यहि साँघुरो जुत्ता, यात्रा अगाडि बढ्दै गयो साँघुरो जुत्ताको साथमा ।

दुःख सुख बाटो लागियो भञ्याङ्खर्कबाट हेवा खोला तर्दै वाना, उकालो ओरालो हुँदै पुगियो सभाखोला, भोकले पिडित हामी सरले खाने बारे कुरै ननिकालेपछि हामी निर्ह्य बनेका थियौं । कडा मिजासको स्वभाव भएको कारण हामी कसैमा सरको अगाडि भोक लागेको कुरा भन्ने आँट भएन । भोकले त्रासलाई खाईदिन्छ भने झै अन्त्यमा सरलाई ठुलै आँटको साथ भोक लागेको कुरा गरेपछि खाजाको रुपमा चाउचाउ खाईयो, स्वर्ग पुगेको अनुभुति लिएर ।

करिब दिउँसोको करिब ४ बजे तिर जिल्लाको सदरमुकाम खाँदबारी बजार पुगियो । सानै उमेरमा त्यति धेरै हिँडाई पहिलो पटक थियो । दुखाईको पिडा त्यतिनै, एक पाइला चाल्न मन नलाग्ने गरी र त्यस्तै अवस्था गोबिन्द र रत्नमणिको पनि । होटलमा खाने बस्ने रहर खुबै भएको थियो हामी तिनै जनालाई, किनकि हामी कोही घर छोडेर कहिल्यै बाहिर बस्ने गरी गएका थिएनौं । सरलाई सदरमुकामकै कुनै एक होटलमा बस्ने भन्ने अनुरोध गर्यौं तर सरले मान्नु भएन । हाम्रो रहर चाहाना त्यहि चकनाचुर भयो जतिबेला सरले गैरी पाङ्माको आफ्नै घरमा बास बसाउने निर्यण गर्नुभयो, जाहाँ पुग्न सदरमुकाम बाट अझै २ घण्टा जति हिड्नु पर्थ्यो ।

सरको निर्णयको अगाडि कस्को के चल्थ्यो र लागियो सरको पाइला पछ्याउदै । करिब २ घण्टाको उकालो बाटो हिँडेपछि बल्ल तल्ल पुगियो सरको घरमा, झमक्क साँझ परेपछि । मिठो मसिनो जस्तो भएपानि सरको बुढि हुनु भएकी आमाले पकाएको खाना खएर अलि अलि भएपनि प्रतियोगिताको लागि तयारी गर्न सुरु गरियो । थाकाईको अगाडि अध्ययन एक पल पनि टिकेन, कलिलो ज्यानको थकाई र दुखाईले तनै भाईलाई निन्द्रा देबीको काखमा पुर्यायो ।

यात्रा दिन - २
बिहान सरले बोलाउँदा मात्र थाहा भयो घाम डाँडा माथि आइसक्न लागेछ ।
“उफ्! फेरी हिँड्नु पर्ने, बेकारमा आईएछ ।” मैले गोबिन्दको कानमा खुसुक्क भने ।
“हो यार!” गोबिन्दले सहमति जनाए ।
जे जस्तो भएपनि हिँड्नु त छ नै । गैरी पाङ्मा बाट उकालो लागियो अनि छ्याङ्कुटी भन्ने ठाउँमा पुगेर कालो चिया र ग्युकोज बिस्कुट खाईयो अनि लागियो चिचिला पाताल तिर, जहाँ बाट सुरु हुन्थ्यो अत्याधिक जाडो र घना जंगल बिचको बाटो । बाहिर जति नै टन्टलापुर घाम लागे पनि बाटो पुरै हिलो र चिप्लो थीयो सितले ।
करिब ११ बजे तिर त्यहिको एक साघारण होटलमा खाना खाने तयारी भयो । जाडो धेरै भएकोले आगो ताप्न तिनै भाई चुलोको नजिकै घेरा हाल्यौं । त्यहि समय सर र होटल वाला दाई बिच भएको रमाईलो गफ अझै पनि ताजा छ ।

“दाई बिहे भयो?” सरले सोध्नु भयो ।
“अँ! भयो ।" उत्तरमा दाईले भने ।
“छोरा छोरि नि?” सरले फेरि सोध्नु भयो ।
“५ जाना छन् ।“ दाईले भने ।
“कति धेरै त ? सरले सोध्नु भयो ।“
“के गर्नु सर जडो छ, संगै सुत्यो भैहाल्छ ।“ दाईले भने ।
“अनि अहिले त बजारमा धेरै सामान आएका छन् त बच्चा नहुने । था छैन ?” सरले सोध्नु भयो ।
“था छ सर । तर तेस्तो प्रयोग गर्दा मजा आउदैन ।“ दाईले भने ।
सर बडो गज्जबले हास्नु भयो हामी तिन भाई भने मुख रातो बनाएर आगो तापिरयौं । सायद अहिले भए हामी पनि खुब हाँस्थ्यौ होला ।

चिचिला बाट खाना खाएर बाटो लागियो र पुगियो जिल्लाकै सुन्दर र रमणिय ठाँउ नुम । अरुण नदि भन्दा केहि माथिको एउटा सानो बजार हो नुम । राम्रो सत्कार सहितको खानाको लागि अहिले सम्म पनि प्रख्यात छ ।

करिब साँझको ५ बजिसकेको थियो नुम पुग्दा । त्यहाँ बाट हेदाङ्ना अरुण पारी नजिकै देखिन्थ्यो तर पुग्न पुरा १ घण्टा लाग्थ्यो । करिब २ दिनको यात्रा गरिसकेमा हाम्रा कलिला खुट्टाको लागि १ घण्टा पनि एक दिन सरह लाग्न थाल्यो ।

रहर बाट सुरु भएको यात्रा बाध्यतामा परिणत भयो, अनि बाध्यतालाई शिरोपर गर्दै कलिला तथा भारी पाईलाहरु हेदाङ्ना तर्फ लाम्काउन थालियो । एक घण्टाको कठिन हिँडाई पछि पुगियो हेदाङ्ना बजार ।


यात्रा दिन - ३
दुर्गम जिल्लाको पनि दुर्गम ठाँउ रहेछ हेदाङ्ना, हरेक सामान हरुको दोब्बर भाउ सदरमुकामको भन्दा । सधैं १ रुपैयाको ४ वटा सुन्तले चकलेट किनेर खाएको मालाई २ वटा मात्र पाँईदा मनमा खिन्नता हुनु स्भाबिकै थियो ।

थकाई धेरै लागेको कारण आँखै नहेरि खाना खाएर सुत्ने तयारी गरीयो, तर सर चै पढ्नु पर्छ भनेर दावाब दिईरहनु भएको थियो । हामि तिनै भाई पढ्न सक्ने अवस्थामा थिएनौं । र पनि सरको अगाडि पढेको जस्तो गरेर सुतियो कतिबेला निदाईयो बिउझिँदा उज्यालो भैसकेको रहेछ ।

बिहान देखि नै हाजिरिजवाफ प्रतियोगिताको लागि तयारीको चहालपहल सुरु भैरहेको थियो जब हामी हेदाङ्ना बजारबाट १ घण्टाको बाटो तय गरेर हिमालय मा. बि. हेदाङ्नाको प्रांङण पुगेका थियौं । करिब करिब हिमालकै काखमा रहेको उक्त बिध्यालय हाम्रो भन्दा निकै सुन्दर थियो ।
आयोजक बिध्यालय निकै टाढा भएर होला प्रतियोगिताको लागि जम्मा ४ बटा मात्र बिध्यालयको उपस्थिती रहेको थियो । हिमालाय मा.बि. खाँदबारी, सरस्वती मा.बि. चैनपुर, मादि मा.बि. मादी र वाना मा.बि. वाना जिल्लाकै उत्कृष्ट सरकारी बिध्यालयहरु बिचको प्रतिस्पर्घा कडा हुने पक्का थियो । केहि औपचरिक कार्यक्रम सँगै सुरु भयो प्रतियोगिता । हाम्रो दुर्भाग्य भनौ या तयारिमा कमि, हाम्रा लागि हेरक प्रश्नहरु जटिल लाग्न थाले । हाम्रो टोलिको तनाब बढ्दै गयो, आफ्नो र बिध्यालयको ईज्जत गाँसिएकोले म निमोठिएर आयो । अन्तिम नतिजामा हामी चौथो भयौं हाम्रो बिध्यालय चौथो भयो । मन अमिलो भएर आयो, एक ले अर्कोलाइ हेर्न नसक्ने अवस्था भयो, सरको अगाडि कसरी उभिने उपस्थित हुने भन्ने पिडाले जेल्यो ।

नतिजालाई आत्मसाथ गर्नै पर्यो, आगामि प्रतियोगिताहरुमा मेहनत गर्ने प्रण गरियो र अन्त्यमा जुनियर रेडक्रस सर्कलको बिध्यालयले पाउने अङ्क पाईयो भनेर चित्त बुझाईयो । त्यो अङ्कको प्राप्ति सँगै हाम्रो बिध्यालयले जु.रे.स सम्मान पाउने पक्का थियो । हाम्रो प्रतियोगितामा उपस्थितीले मात्र पनि बिध्यालय जिल्लामै उत्कृष्ट हुन बाट रोकिने थिएन, त्यसमै हामी सिमित खुसि भयौँ ।

मेरो मनमा सन्नाटा छायो, अब घर कसरी फर्कने ? एक मिनेट आँखा चिम्लिए बुबा, आमा, बहिनि सम्झे अनि घर, आँखा खोले टिलपिल आँसुले भरिएका रहेछन् । आफैलाई सम्हाले, साथिहरु र सर पर पुग्नु भएको रहेछ दुखेको खुट्टा खोच्याउदै पछ्याएँ ।
साँझको खाना र बसाई हेदाङ्ना मै भयो, कोहि साथिहरु रमाईलो गर्ने सोँचमा थिएनौं, प्रथम हुनेहरु रामाई रहेका थिए ।

यात्रा दिन - ४
बुबाले किनिदिनु भएको सानो तर राम्रो जुत्ता प्रति मेरा सुनिएका र दुखेका खुट्टाहरु पटक्कै आकर्षित भैरहेका थिएनन् न त म संग बिकल्प नै थयो । बिहान हेदाङ्ना बाट चिया र बिस्कुट खाएर, अरुण तेस्रो जलबिधुत आयोजनाको बिधुत गृह परिरमा भएका स-साना घरहरु नियाल्दै नुम तिर उकालो लागियो । करिब १० बजे तिर खाना खान नुम पुगियो । त्यहाँ बाट खाना खाएर फेरि उकालो बाटो, जंगल, मच्छेपोखरी हुदै चिचिला पाताल छिचोल्न पाईलाहरु घिस्रिरहेका थिए ।

सानो चेडा, बिध्यार्थी जिबन, अनि भोक लागि रहेने उमेर हामी तिनै जनाको समान बिशेषता थियो । बिहानको खानाले कति नै समय टिक्थ्यो र ? पेट मामुसा डौडिन सुरु गरि सकेको थियो । खाजा खाने भन्ने बिषय कतै निस्किएको थिएन, घरमा आमाले उमालिदिनु भएको चाउचाउको झोलमा बासि भात हालेर खाएको सम्झिए, आँखामा भेल उर्लिहाल्यो ।

करिब ६ घण्टाको बाटो हिँडेपछि ४ बजे तिर छ्याङ्कुटि आइपुग्यो खालि पेट र भारी खुट्टाहरु । छ्याङ्कुटिबाट जिल्लाको सदरमुकाम खाँदबारी प्रष्ट र सुन्दर देखिन्थ्यो । अहिले भए त्यो सुन्दरताले भोक र थकान दुबै मेटाई दिन्थ्यो होला तर त्यो उमेर त्यति साहित्यिक पनि थिएन, पेटले खाना र शरिरले आराम मागिरहेको थियो ।

ओहो! सबको मुखमा चमक आयो, खाजा खान पाइने भैयो भनेर । त्यो बेलाको मिठो खाजा भनेकै चाउचाउ अनि सबैको प्रिय पनि । भोकले पिल्सिएको बेला त्यो तातो चाउचाउ काति छिटो खाईएछ पछि मुख पोलेर दुखेपछि मात्र थाहा भयो ।

साँझको बसाई पुनः सरकै घर गैरी पाङ्मामा भयो, सदरकुकामको ठुलो होटलमा बस्ने सपना फेरी फुट्यो । फर्किदा बस्न पाइएला कि भने आशा माथि पनि तुसारापात छायो ।  अत्याधिक दुखाई र पिडाको कारण म राम्रो संग निदाउन सकिन रत्नमणि र गोबिन्द भने ढुक्क साथ निदाए ।

यात्रा दिन - ५
बिहान उठ्दा मेरो पाइला अगाडि चल्न सक्ने अवस्था न्युन भएको थियो तर घर पुग्न पुरा एक दिन हिड्नु पर्ने छदै थियो । एक्कासि भक्कान्निएर आयो मन बाट, साथिहरुको कारण बाहिर निकालिन । हुन त साथीहरुको पनि हालत मेरो भन्दा कम चै थिएन, किनकि त्यो दिन हाम्रो हिँडाईको पाँचौं दिन थियो ।

बिस्तारै बाटो लाग्नु बाध्यता थियो । बिहानको खाना खाँदबारीमा खाएर ओरालो लागियो । धेरै ठाँमा बिस्राम गर्दै, बिश्वकै होचो अरुण उपत्यका हुदै सभा खोला पुग्दा दिउँसोको टन्टलापुर घामले सेकिसकेको थियो । सोहि खोलामा एकछिन बिस्राम गरि सख्खर र पानि खाएर उकालो लागियो ।

नाक ठोकिने उकालो करिब ३/४ घण्टा हिडेपछि बल्ल पुगिन्थ्यो खराङ बाजार र उकालोको अन्त्य पनि । म घिस्रिने अवस्थामा थिए, २ खुट्टाको साथ २ हात समेत, ४ पाउ टेक्दै खराङ बजार पुग्दा म अर्धचेत अवस्थामा पुगेको थिए । साथीहरु चै म भन्दा अलि कम थकित ।
खराङबाट मेरो घर पुग्न अझै ३ घण्टा हिड्नु पर्थ्यो, भने साथीहरुको २ घण्टा मात्र । मैले खराङ बाट अगाडि बढ्न नसक्ने बताए पछि त्यहीँ ठुलोआमाको घरमा बस्ने निर्णय गरे । रत्नमणि, गोबिन्द र सर हरु चैनपुर तिर लाग्नु भयो । म सुनिएको हात्तिको जत्रो खुट्टा लिएर खाटमा पल्टिएँ । दुइ दिनको आराम पछि मात्र घर फर्किएँ ।

अन्त्यमा
करिब १६/१७ बर्ष बितिसक्यो त्यो कठिन यात्राको स्मरण अहिले पनि मनस्पटलमा ताजा छ । त्यो पिडा अहिले पनि महसुस हुन्छ । मेरा मित्र गोबिन्द र रत्नमणिले त्यो यात्रा काति सम्झिन्छन् थाहा छैन । मेरो आदरणिय पुरुसोत्तम सर ले कति सम्झिनुहुन्छ थाहा छैन । यो लेखाईले पक्कै केहि कुराहरुको स्मरण गराउला । अहिलेका मेरा हरेक भ्रमणले त्यो पिडादायी यात्राको स्मरण गराउँछ र थप रोमान्चित बानाउँछ । मलाई फेरि हेदाङ्ना जान मन लागेको छ । फेरि १ रुपैयाको २ वटा सुन्तले चकलेट पाइन्छ कि पाइन्न था छैन । सुन्छु अहिले त नुम सम्म जिप गुड्न थालेको छ रे । फेरि जाँदाको यात्रा स्मरणदायि नहोला तर पुरानो यादले पक्का प्रफुल्लित पार्ने छ ।

0 comments:

Post a Comment